//गठबन्धनले देशलाई ओरालोतिर लगिरहेको छ : ओली

गठबन्धनले देशलाई ओरालोतिर लगिरहेको छ : ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको बताएका छन् । शनिबार संविधान दिवसका अवसरमा एमालेले निकालेको पदयात्रापछि सम्बोधन गर्दै ओलीले देशलाई अप्ठेरो अवस्थाबाट अगाडि लैजानुपर्ने बताएका हुन् ।

पदयात्राको नेतृत्व गरेका ओलीले सम्बोधनका क्रममा भने, ‘देशलाई गठबन्धनले ‌ओरालोतिर लगिराखेको छ । यस ओरालो गतिलाई रोकेर देशलाई अगाडि लैजाने, माथि चढाउने, लोकतन्त्रको अभ्यासका हिसाबले, संविधान कार्यान्वयनका हिसाबले, शान्ति सुरक्षाका हिसाबले, भ्रष्टाचार नियन्त्रणका हिसाबले सशक्त ढंगले अगाडि बढ्नेछौँ । ‘

त्यस्तै पछिल्लो समय एमालेले धक्का खाएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नसमेत उनले नेता/कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘एकछिन धक्का खाएको होला तर त्यसलाई चिरेर अगाडि बढ्नुपर्छ । नेपाल नेपाली जनताले चलाउने हो अरु कसैले चलाउने होइन ।’

देश संविधानसम्मत चल्नुपर्ने उल्लेख गर्दै उनले अगाडि भने, ‘यतिबेला देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन । संविधान दिवस र राष्ट्रियता दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाइरहेका छौँ ।’ त्यस्तै संविधान दिवसलाई जनताको दिवसका रूपमा र राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो ।